अछाम । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले सार्वजनिक कार्यक्रममा दलित समुदाय तथा नागरिकलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएको भन्दै दलित उत्पीडित सेवा समाजले आपत्ति जनाएको छ।
समाजका अध्यक्ष अम्मर लोहार र सचिव मनोजकुमार सार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खड्काका भनिएका अभिव्यक्तिको विरोध गरेका हुन्।
समाजका अनुसार गत वर्षको दलित सशक्तीकरणसम्बन्धी कार्यक्रममा खड्काले “म कस्तो खानदानको मान्छे हुँ, मलाई चिनेको रहेनछौ…” भनेका थिए। त्यस्तै, चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइका क्रममा “तँ चुप लाग, तँ धेरै बोलिस” जस्ता शब्द प्रयोग गरेको समाजको दाबी छ।
नागरिकले जनप्रतिनिधिसँग प्रश्न गर्ने र आफ्ना गुनासा राख्ने सार्वजनिक सुनुवाइको अभ्यासमा अपमानजनक भाषा प्रयोग हुनु गम्भीर विषय भएको समाजले जनाएको छ।
समाजले उपाध्यक्ष खड्कालाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति फिर्ता लिन माग गरेको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।
यस विषयमा उपाध्यक्ष खड्काको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।


