मेल्लेख । अछामको मेल्लेख गाउँपालिका–४ कुस्कोटको तोलिपाटाका ५० घरपरिवारले ३८ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयले अन्ततः आफ्नो जग्गाको आधिकारिक प्रमाण पाएका हुन्।
साबिकको कुस्कोट गाविसअन्तर्गत तोलिपाटा र साबिकको ठाँटी गाविसबीचको सीमा विवादका कारण स्थानीयले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन्। विवाद समाधान भएपछि लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको भए पनि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा अछाममा भएको आक्रमणपछि भुमि प्रशासन कार्यलयमा पनि आवश्यक कागजात जलेर नष्ट हुँदा समस्या थप जटिल बनेको थियो।
लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया गाउँपालिका, वडा कार्यालय र भूमि प्रशासन कार्यालयको पहल तथा समन्वयमा अघि बढेपछि ५० परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका हुन्।
मेल्लेख गाउँपालिका–४ वडा कार्यालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो।
वडा अध्यक्ष चन्द्रबहादुर साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि तथा भूमि प्रशासन कार्यालय अछामका प्रमुख शिवराज ढुगेना विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी मेल्लेखका संयोजक गम्भीर साउद, नेकपा एमाले मेल्लेख संगठन कमिटीका अध्यक्ष सुरेन्द्र साउद, वडा सदस्य शंकर साउद, सालिभान साउदलगायतको उपस्थिति रहेको थियो।
लालपुर्जा नहुँदा जग्गाको स्वामित्व प्रमाणित गर्न, प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गर्न र आफ्नो सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न स्थानीयलाई कठिनाइ हुँदै आएको थियो। अब जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएसँगै जग्गासम्बन्धी विभिन्न काम, बैंकिङ कारोबार तथा सरकारी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
लालपुर्जा प्राप्त गरेपछि स्थानीय सुरेन्द्र साउदले जग्गाधनी प्रमाणपुर्जा नहुँदा विभिन्न काममा समस्या भोग्नुपरेको बताउँदै अब जग्गासम्बन्धी कामकाज गर्न सहज हुने बताए।
३८ वर्षपछि प्राप्त जग्गाधनी प्रमाणपुर्जाले ५० परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ। लामो समयदेखि अन्योलमा रहेका स्थानीयका लागि यो उपलब्धिले सम्पत्तिको सुरक्षा, प्रशासनिक सहजता र भविष्यमा जग्गासम्बन्धी कारोबार गर्न बाटो खुला गरेको छ।


