साँफेबगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अछाम क्षेत्र नं. १ मा क्षेत्रीय नेतृत्वका लागि राजनीतिक गतिविधि बढ्न थालेको छ। यसै क्रममा कांग्रेस नेता रामबहादुर कुँवरले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको संगठन निर्माण, सञ्चार क्षेत्र र सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय कुँवरले आफूलाई क्षेत्रीय नेतृत्वका लागि अघि सारेका हुन्।
कुँवरले नेपाली कांग्रेस अछामको जिल्ला कार्यसमिति सदस्यका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन्। उनी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत भइसकेका छन्।
उम्मेदवारी घोषणा गर्दै कुँवरले संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार कार्यकर्ताबीच समन्वय, पारदर्शिता, अनुशासन र सबै तहका नेता–कार्यकर्ताको सहभागितालाई बलियो बनाउँदै पार्टी संगठन अघि बढाउन आवश्यक छ।
क्षेत्रीय सभापतिको जिम्मेवारी पाए संगठनलाई थप चलायमान बनाउने, कार्यकर्तासँगको सम्बन्ध मजबुत बनाउने तथा कांग्रेसको नीति, विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउने आफ्नो लक्ष्य रहेको कुँवरले बताएका छन्।
उनले न्याय, समानता र सामाजिक रूपान्तरणका मुद्दालाई समेत संगठनको प्राथमिकतासँग जोड्दै समावेशी र जिम्मेवार पार्टी निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
कुँवरको उम्मेदवारी घोषणासँगै अछाम क्षेत्र नं. १ को कांग्रेस क्षेत्रीय नेतृत्वमा प्रतिस्पर्धा र राजनीतिक गतिविधि थप रोचक बन्ने देखिएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै अन्य आकांक्षीहरू पनि नेतृत्वका लागि सक्रिय हुने क्रम बढ्दै गएको छ।


