मनसुन सक्रियः केही प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

1 Min Read

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, रातिको समयमा कोशी, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि क्षेत्र र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
सम्भावित जोखिम भएका क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तथा खोलानालाको आसपासमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Total Views: 1
Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *