काठमाडौ । भारतको तमिलनाडु सरकारले विपन्न तथा कम आय भएका परिवारलाई राहत दिने उद्देश्यले वर्षमा तीनवटा खाना पकाउने एलपीजी सिलिन्डरको खर्च फिर्ता गर्ने योजना घोषणा गरेको छ।
तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले सोमबार राज्य विधानसभामा ‘अन्नपूर्णी सुपर सिक्स’ योजना घोषणा गरेका हुन्। योजनाअन्तर्गत वार्षिक आम्दानी २.५ लाख भारतीय रुपैयाँसम्म भएका योग्य परिवारले वर्षमा तीनवटा एलपीजी सिलिन्डरको सुविधा पाउनेछन्।
लाभग्राहीले नियमित प्रक्रियामार्फत सिलिन्डर खरिद गरेपछि तीनवटा सिलिन्डरको रकम प्रत्यक्ष बैंक खातामा जम्मा गरिने बताइएको छ। योजनाबाट करिब १ करोड ३० लाख परिवार लाभान्वित हुने अनुमान गरिएको छ।
सरकारले यस योजनाका लागि वार्षिक करिब ४ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरेको छ। योजना सन् २०२७ को जनवरीमा पर्ने पोंगल पर्वदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।
सरकारका अनुसार बढ्दो खाना पकाउने ग्यासको खर्चबाट कम आय भएका परिवारलाई राहत दिन यो योजना ल्याइएको हो।


